‘जुनाः एक व्यथा’ को मार्मिक ट्रेलर रिलिज
बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने फिल्मको ट्रेलर राजधानीमा सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । प्रोमो :
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ । ट्रेलरमा बालिका भूमिकामा देखिएकी अस्मिता ढकालको विवाहदेखि गर्भवती अवस्थासम्मको पीडालाई देखाइएको छ । केटी माग्न गएको दृश्यदेखि सुरु ट्रेलरमा विवाह पछि बालिकालाई पति, सासुले दिएको दुःख र पीडालाई देखाइएको छ । गाउँका खलपात्रले उनलाई लगाएको कुदृष्टिलाई पनि ट्रेलरमा स्थान दिइएको छ।
ट्रेलर निकै मार्मिक बनेको छ । बाल विवाह गरेपछि एउटा बालिकाको जीवनमा कस्तोसम्म पीडा र दुःखका दिन सुरुवात हुन्छ भन्ने कुरा ट्रेलरमा देखाइएको छ । छोरीलाई विवाह गरेपछि उसका बाबुआमाको छोरीप्रतिको पीरलाई पनि ट्रेलरमा समेटिएको छ । ट्रेलरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारलाई समेटिएको छ ।
ट्रेलर रिलिज पछि फिल्मका निर्माता दीपकप्रसाद घिमिरेले फिल्ममा वास्तविकता भएकाले दर्शकलाई छुने बताए । ‘हामी जुनसुकै पेशा व्यवसायमा भए पनि यो हाम्रै घरको र गाउँको कथा हो । यस्ता घटना नेपालमा मात्र नभई दक्षिण एसियामा पनि प्रशस्त छन् । यस्तो फिल्मले त्यस्तो हिंसाबाट बचाउन सहयोग गर्छ भन्नेमा हामी आशावादी छौं’, उनले भने ।
निर्देशक जीवन सेञ्चुरीले फिल्मले नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहु विवाह, बलात्कार र छाउपडी प्रथाजस्ता कुप्रथालाई अन्त्य गराउन समाजमा चेतना फैलाउन प्रेरित गर्ने बताए । फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।