‘एक्टर : टेक वन’को रिलिज रोकिंदा फिल्मकर्मीले जनाए असन्तुष्टि
प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन रोकिएको छ । काठमाडौं जिल्ला अदालतले फिल्म रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
मंगलबार भएको प्रारम्भिक सुनुवाईपछि न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले उक्त आदेश दिएको हो । एक्टर : टेक वन को बुधबार, माघ १६ गते रिलिज हुने गरी प्रचार प्रसार र प्रिमियर समेत गरिएको थियो । माघ २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाउँदै अदालतले आदेशमा भनेको छ, ‘निवेदकको चलचित्र ‘एक्टर’ प्रदर्शन भइरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर : टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीका नाममा यो अल्पकालीन आदेश जारी गरिदिएको छ ।’
गत माघ ४ गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर’को प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट थापाले आफ्नो फिल्मको नाम र कथावस्तु चोरी गरेर ‘एक्टर : टेक वन’ निर्माण गरिएको दाबीसहित फिल्मको प्रदर्शन रोक्न माग गर्दै आइतबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए । रिटमा उनले फिल्मको नाम परिवर्तनको माग समेत गरेका छन्।
राजन भुसालको निर्देशनमा तयार भएको ‘एक्टर : टेक वन’मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, सुशील सिटौला, निश्चल बस्नेत लगायतको अभिनय छ । फिल्मलाई थमन भण्डारीले निर्माण गरेका हुने । अदालतको आदेशसँगै मल्टिप्लेक्सहरुले हलबाट फिल्मको शो हटाएका छन् । अदालतको यस प्रकारको आदेशको फिल्मकर्मीले असन्तुष्टि जनाइ रहेका छन्।
“नाम एउटै पनि छैन अलिकति फरक नै छ । एउटै नाम राख्दा पनि प्रतीलिपि ऐन नलागेर सहजै प्रदर्शन भएका थुप्रै चलचित्रहरू छन । दिपेन्द्र के खनालले आमा बनाए , के घर के डेरा बनाए जुन पुरानै क्लासिक फिल्महरू हुन । परालको आगो फेरि रिमेक हुने भएको छ क्यार । अस्ति भर्खर सानो संसार पनि रिलिज भैसकेकै हो । यहाँ नाम जुध्नु खासै ठूलो इश्यु नै होइन र ठ्याक्कै एउटै पनि त छैन । फिल्मभित्रको सबै गुदि नै निकालेर लगेको जस्तो रोइलो आफ्नो चलचित्रले हलमा पानी पनि भन्न नपाएपछी भोलिदेखि प्रदर्शनको संघारमा रहेको एक्टर टेक वन लाई प्रसारण रोक्न माग गर्नु अनावश्यक दुख दिनु मात्र हो । एउटा निर्माताले प्रिमियर , पब्लिसिटी देखि विभिन्न शिर्षकमा कति लगानी खर्चिसकेको हुन्छ । चलचित्रमा आवद्ध कलाकार देखि विभिन्न ब्यक्तिहरू प्रोमोसनको लागि देश विदेश देखि आएका हुन्छन । यसैपनि फिल्म मेकिङ धेरै खर्चिलो विधा हो । जो असल निर्माता , निर्देशक हुन उनीहरूले यो कथा व्यथा बुझेकै हुन्छन । इश्यु सायद इगोको हुनसक्छ । एउटै उद्योगको भएपछि फिल्ममेकर फिल्ममेकर ! चलचित्रकर्मी -चलचित्रकर्मीबिच नै आपसमा सद्भाव र भाइचारा सम्बन्ध नभइ एकअर्कामा प्रतिसोध र आरिस को भावना भएपछी यस्तो भइ नै रहन्छ । जुन सम्पुर्ण नेपाली चलचित्र क्षेत्रको हितमा छैन । हरेक कुरामा राजनीति नगरौँ” : आर्यश
“एउटै नाम मा दुई फिल्म किन दर्ता गरियो भन्ने प्रस्न आयो र Dinesh DC लाई गाली गरिएको नि देखियो तर मलाई लाग्छ यो दिनेश जि को पालो मा नि भएको होइन र दिनेश जि ले गरेको नि होइन तर भोलि को फिल्म आज रोक्नु राम्रो होइन” :शोभित बस्नेत