‘बोक्सीको घर’को गीत लोकप्रिय बन्दै, फिल्मप्रति बढ्यो आशा
अभिनेत्री केकी अधिकारी निर्मित तथा अभिनित फिल्म ’बोक्सीको घर’ यतिबेला चर्चामा छ । फिल्मको गीत र ट्रेलर दुवै युटुव ट्रेन्डिङमा छन् । ’बुझिनँ मैले’ मैंले गीतको भिडियो रिलिज भएको दुई सातापछि ट्रेन्डिङमा उक्लिएको हो । फिल्म यही बैशाख १४ गतेबाट प्रदर्शनमा आउँदैछ । गीत :
प्रकाश सपुतको शब्द तथा संगीत र गायिका समिक्षा अधिकारीको स्वर रहेको बोक्सीको घरको गीत यतिबेला भाइरल बनिरहेको छ । गीतमा हजारौैंले रिल्स र टिकटक भिडियो बनाइ रहेका छन् । केकी अधिकारी फिचर्ड गीतलाई ४६ लाख बढीले हेरेका छन् । फिल्म रिलिज अगावै गीतले करोड क्लवमा प्रवेश गर्ने अनुमान छ ।
यो गीतका सर्जक प्रकाश सपुतको नामैले पनि गीतलाई लोकप्रिय बनाउन ठूलो भूमिका खेलेको बुझाई निर्माण टिमको छ । गीतलाई भिडियोले पनि उतिक्कै न्याय गरेको छ । गीतको मर्म र शब्दको भावअनुसार नृत्य निर्देशक सुनिल क्षेत्रीले अभिनेत्री केकी अधिकारीलाई प्रस्तुत गरेका छन् । केकीको शारीरिक हाउभाउ, अनुहारको एक्सप्रेसन, नृत्य र आँखाको भाव जबर्जस्त देखिएको छ । ’बुझिनँ मैले’ गीत लोकप्रिय बनेपछि यसको प्रभाव बक्स अफिसमा देखिने विश्लेषण छ ।
सुरक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको सिनेमामा केकीसहित श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटा लगायतको पनि अभिनय छ ।