रमितको ‘नमेटिने घाउ’मा माधव र ज्ञानेन्द्रको अभिनय
अभिनेता रमित ढुंगानाको निर्माण तथा निर्देशन रहेको फिल्म ’नमेटिने घाउ’ को राजधानीमा छायाँकन भैरहेको छ । यो फिल्ममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि केही दृश्यमा अभिनय गरेका छन् ।
उनीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीको दृश्य पनि मंगलबार खिचिएको छ । मंगलबार काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसमा फिल्मका लागि अध्यक्ष नेपालको दृश्य खिचियो । एसिड आक्रमण विरूद्धको प्रदर्शनमा माधव नेपाल र ज्ञानेन्द्र शाही सहभागी भएको दृश्य छायाँकन गरिएको हो । फिल्ममा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत अभिनय रहनेछ । ओलीको छायांकन बिहीबारका लागि तय गरिएको जनाइएको छ । फिल्ममा उनले ’प्रधानमन्त्री’ को भूमिका निर्वाह गर्नेछन् । उनीसँगै अन्य केही नेताहरूको दृश्यसमेत बिहीबार खिचिने जनाइएको छ ।
एसिड पीडितहरूको कथामा आधारित फिल्ममा मुस्कान खातुनको समेत अभिनय छ । मुस्कान एसिड आक्रमणमा परेकी थिइन् । उनी सहित फिल्ममा सिम्रन खड्का, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायत कलाकारहरू फिल्ममा देखिनेछन ।
शिवम् अधिकारीको लेखन रहेको फिल्मले ३३ जना एसिड पीडितहरूको कथालाई प्रस्तुत गर्नेछ । फिल्मका निर्माण नियन्त्रक आरे प्रनप सुवेदी हुन् ।