अशोक दर्जीको कथामा फिल्म बनाउँदै टंक बुढाथोकी
गायक तथा संगीतकार टंक बुढाथोकीले फिल्म बनाउने भएका छन् । बाल गायक अशोक दर्जी र टंक बुढाथोकीको हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नाममा नै फिल्म निर्माण गर्न लागिएको हो ।
फिल्म ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ मा अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावलाई प्रस्तुत गरिनेछ । बिहीबार चलचित्र विकास बोर्डमा फिल्मका इजाजत लिइयो । टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहने फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा निर्मातामा विनय अधिकारी रहेका छन् । फिल्मको पटकथा लेखक शिवम् अधिकारी हुन् । फिल्म निर्माणमा टंकसँग विनय अधिकारीले सहकार्य गर्नेछन् ।
फिल्ममा अशोक दर्जीको मुख्य अभिनय रहने छ । नायक र नायिका लगायत अन्य रोलबारे चाँडै टुंगो लगाएपछि छायांकन जाने निर्माता तथा निर्देशक बुढाथोकीले जानकारी दिएका छन् । फिल्मलाई २०८१ सालभित्रै प्रदर्शन गर्ने तयारी छ ।
फिल्ममा दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुता बारेको सन्देशको कथावस्तु समावेश हुनेछ ।