’पुजार सार्की’को पहिलो गीत ’दर्शन गरेँ’ रिलिज
फिल्म ’पुजार सार्की’को पहिलो गीत ’दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको परम्परा अनुसारको लोकप्रिय ’कौडा नृत्य’मा आधारित छ । गीत :
सार्वजनिक गीतमा तीन स्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह सहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुले मगर पहिरनमा सजिएर सामूहिक कौडा नृत्य गरेका छन् । कास्कीको जिल्लाको धम्पुसमा छायाङ्कन गरिएको यसको भिडियो माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राख्दै तयार पारिएको छ। यसका कोरियोग्राफर शिशिर खाती हुन् । हर्क साउदका शब्द र सुवास भुसालको सङ्गीत रहेको यस गीतमा गायक प्रकाश सपुत र गायिका शान्तिश्री परियारको स्वर रहेको छ ।
दिनेश राउत निर्देशित फिल्म पूजार सार्की जेठ १० गतेबाट प्रदर्शनमा आउँदैछ । यसअघि सार्वजनिक फिल्मको पोस्टर र टिजरलाई दर्शकले रुचाएका छन् । यस चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन् । प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ तर, उनको पूणर् परिचय भने गराइएको छैन् । पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ ।
फिल्मलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले फिल्म ’प्रकाश’मा सहकार्य गरेका थिए ।