‘मेयर’को छायाँकन ५१ दिनमा सकियो
फिल्म ‘मेयर’को सबै छायांकन सकिएको छ । फिल्म सुरु भएको ५१ दिनमा गत शुक्रबार फिल्मको छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।
काठमाडौंको मल्ल होटेलबाट सुरु भएको फिल्मको छायांकन सर्लाही र सिन्धुलीमा पनि भएको थियो । तर अधिकांश सिन सर्लाहीमै भएको हो । अपेक्षा गरे भन्दा पनि ठूलो क्राउडमा फिल्मको छायांकन गरेको निर्देशक खनालले बताएका छन् । एउटै सिन ११ हजारभन्दा धेरै क्राउड जम्मा गरेर छायांकन भएको उनले बताए ।
निर्देशक खनालले भने, ‘राजनीतिक विषयको सिनेमामा यति धेरै क्राउड नेपाली सिनेमामा पहिलो पटक देखिनेछ । नगरपालिका र स्थानीयको सहयोगमा यो सम्भव भएको हो । यसले सिनेमाको प्रोडक्सनलाई रिच बनाएको छ । यसको सकारात्मक प्रभाव सिनेमामा देखिनेछ । यसले सिनेमालाई विश्वस्नीय बनाउनेछ ।’ दर्शकले नेपाली फिल्ममा पहिलो पटक राजनीतिक फिल्मको फिल गर्न पाउने निर्देशक खनालको भनाई छ ।
फिल्मको मुख्य भूमिकामा खगेन्द्र लामिछाने छन् । खगेन्द्रसँगै वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, ऋचा शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको अभिनय छ ।
फिल्म ‘मेयर’को कथा सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षलाई आधार मानेर तयार पारिएको छ । फिल्मको कार्यकारी निर्माता दीपेन्द्र स्वयं हुन् भने निर्माता शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल हुन् । पटकथा महेश दवाडीले लेखेका छन् ।