ट्रेलर रिलिजपछि ‘फर्की फर्की’को विदेशमा माग बढ्यो
निर्माता रोहित अधिकारीका अनुसार फिल्म ‘फर्की फर्की’को ओभरसिज राइट्स धमाधम विक्री भैरहेको छ । अनमोल केसी स्टारर फिल्मको पोस्टर र टिजर रिलिज भएसँगै विदेशबाट फिल्मको उच्च माग भैरहेको निर्माता अधिकारीको भनाई छ ।
फिल्म ‘फर्की फर्की’लाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लिले लिएको छ । यस्तै, नेपाली फिल्मका लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले फिल्म वितरणको जिम्मा लिएको छ । हङकङमा भने फिल्मलाई ओपिजी फिल्मस्ले विक्री गर्नेछ ।
यी बाहेक अन्य देशमा पनि फिल्मको अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जनाएका छन् । फिल्मको ट्रेलरले २३ लाख माथिको भ्यूज छ । ट्रेलरको प्रतिक्रिया पनि शतप्रतिशत सकारात्मक छ ।
सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारहरुको अभिनय छ । फिल्म ‘फर्की फर्की’जेठ १० गतेबाट विश्वर प्रदर्शनमा आइरहेको छ ।