पुर्वी नेपालमा ‘मनसरा’को कविता कन्सर्ट
‘जारी’ निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्म ’मनसरा’ बैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ । यतिबेला फिल्म युनिट प्रचार प्रसारमा देश दौडाहा छ । यो टिमले यसअघि पोखरा र बुटवलमा कविता कन्सर्ट गरेर अहिले पूर्वी नेपाल पुगेको छ।
पूर्वी नेपालको बिर्तामोडबाट सुरु भएको कविता कन्सर्ट इटहरी पुगेर सकिनेछ । बुधबार बिर्तामोडको क्युएफएक्स हलमा सिनेमाको निर्माण टिमले कविता कन्सर्ट आयोजना गरेको थियो । कवि तथा निर्देशक उपेन्द्र सुब्बाले बिर्तामोडमा आधा-दर्जन भन्दाबढी कविता सुनाएका थिए । कार्यक्रममा अभिनेत्री मिरुना मगरले आफ्नो आमाले रचना गरेका कविता सुनाएकी थिइन् । फिल्मका कलाकारहरु मेनुका प्रधान, प्रवीण खतिवडा र जिवन बरालले कवि सुब्बाले लेख्नु भएका कविता वाचन गरेका थिए ।
बिर्तामोडस्थित क्युएफएक्स हलमा भएको कन्सर्टमा प्राज्ञ मुनराज शर्मा, बरिष्ठ गितकार शिवशंकर थापा, अग्रज पत्रकार तथा साहित्यकार केशव आचार्य, कवि विराट, कवि तथा गजलकार अभागी थेगवा लगायत एकसय भन्दाबढी साहित्य अनुरागीहरुको सहभागिता थियो । कविता कन्सर्ट कार्यक्रममा निर्देशक सुब्बा तथा कलाकारहरुले ‘मनसरा’लाई हेरेर प्रतिक्रिया दिन आग्रह गरेका थिए ।
बुधबार १२ गते विर्तामोड र उर्लाबारीमा कविता कन्सर्ट गरेको ’मनसरा’ टिमले १३ गते दमक र धरानमा कविता वाचन गरेको छ । १४ गते इटहरी र बेलबारीमा पनि कविता कन्सर्ट गर्नेछ ।
फिल्ममा दया, मिरुना, प्रविण तथा मेनुकाका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।