धिरज मगरको जन्मथलोमा उपासना किन पुगिन् ?
असोज ३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । पूर्वी रुकुमको मैकोटबाट फिल्मको सुट सुरु गरिएको हो ।
निर्देशक अशोक थापा मगरले बिहीबारबाट सुरु भएको छायांकन पुन मगरको उद्गम स्थल रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए । रुकुमको मैकोट अभिनेता धिरजको जन्मथलो पनि हो । उनी त्यहाँबाट दुई वर्षको उमेरमा युके गएका थिए । फिल्मको गत माघमा मनाङमा पहिलो चरण छायांकन गरिएको थियो ।
फिल्म ‘खुस्मा’ मा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका छ । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउनेछ ।
एम मिडिया प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक थापा मगर आफैले लेखेका हुन् । फिल्मको छायांकन गर्न पुगेको ‘खुस्मा’ टिमलाई मौकोट बासीले भव्य स्वागत गरे ।
डकुमेन्ट्री फिल्मबाट निर्देशक थापाले नौ वटा बिभिन्न अर्न्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् । फिल्मका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह-निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
फिल्ममा धिरज र उपासनाका सँगै माओत्से गुरुङ, खड्क बहादुर पुन(खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।