असार १४ गते ‘आँखा’ आउने, यस्तो छ थिम पोस्टर
सामाजिक विषय वस्तुमा निर्माण भएको फिल्म ’आँखा’ को पहिलो झलक सार्वजनिक गरिएको छ । पोस्टरमा प्रदर्शन मिती आगामी असार १४ गतेलाई उल्लेख गरिएको छ ।
निर्माण ब्यानर लामा सिनेमा प्रा.लीले शुक्रबार फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै आँखा हलमा आउने मिती रोजेको हो । जौन योन्जनको निर्देशनमा तयार भएको फिल्मको सार्वजनिक पोस्टरमा प्रायः सबैजसो प्रमुख कलाकारहरू प्रस्तुत छन् । ’आँखा’भित्र कलाकारहरूलाई प्रस्तुत गरिएको छ भने त्यसको बीचमा सुर्यमुखी फूललाई समेत जोडिएको छ । अर्को थीम पोस्टरमा पनि फोहोरको थुप्रोमाथी सुर्यमुखी अंकित हुँदा त्यसले फिल्मको कथामा भिन्न संकेत गरेको अनुमान लगाउन सकिन्छ । फिल्मको पोस्टर ट्राइडेन्ट कन्सेप्टको तर्फबाट रोयल भिमसेनले तयार पारेका हुन् ।
’मानवता, सामाजिक दबाब, नैतिक र गरिबी जस्ता विभिन्न जटिल विषय वस्तुहरू अन्वेषण हुन जरुरी छन्। यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराईसम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोण हो , पोस्टर रिलिज गर्दै निर्देशक योन्जनले भनेका छन्, ’दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूणर् हुन्छ, यहि परिधि भित्रको रमाइलो कथा ’आँखा’ हो ।
निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्ममा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल मुख्य अभिनयमा छन् । बाल कलाकारको भुमिकामा प्रसन राई छन् ।
स्मिता लामिछाने निर्माता रहँदा कृष्ण भण्डारी र निर्देशक योन्जनले फिल्मको सम्पादन गरेका छन् । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा संगीत दिपक आरजेको छ भने द्वन्द्व निर्देशकमा रेवन्तविक्रम थापा छन् । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म तयार भएको हो ।