केकी अधिकारीको ‘बोक्सीको घर’ वक्सअफिसमा बम्पर
केकी अधिकारीको फिल्म ’बोक्सीको घर’ ले सुरुवाती व्यापार बम्पर गरेको छ । यो फिल्मले शुक्रबार र शनिबार आक्रमक व्यापार गर्न सफल भएको हो ।
केकीको शिर्ष भूमिका रहेको फिल्मले दुई दिनमा दुई करोड १५ लाख रुपैयाँ कमाएको वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिएका छन् । फिल्मको शुक्रबार ८० र शनिबार शतप्रतिशत अकुपन्सी कायम गर्यो । वितरक श्रेष्ठले फिल्मको यो व्यापारिक प्रदर्शनलाई बम्पर र आश्चर्यजनक भनेका छन् ।
ट्रेलर र टिजर रिलिज हुँदा सकारात्मक प्रतिक्रिया बटुलेको यो सिनेमाले प्रकाश सपुतको संगीतमा तयार भएको ’बुझिन मैंले’ बोलको प्रचार गीतले ह्वातै बढाउने काम गरेको थियो । यस हिसाबले केकीको यो फिल्मले रिलिजको पहिलो दुई दिनमा नै नाफामा जाने निश्चित भइसकेको छ ।
शुक्रबारदेखि नै वक्सअफिसमा आक्रमक हुन सुरु गरेपछि केही मल्टिप्लेक्सले शनिबार फिल्मको शोहरु समेत थपेका थिए । सुलक्षण भारतीको डेब्यू निर्देशन र लेखन समेत रहेको यो फिल्म सोही नामको नाटकमा आधारित छ । नाटकका रुपमा समेत यसले प्रशंसा बटुलेको थियो ।
फिल्ममा केकी सँगै बाल कलाकार सुपला सापकोटा, लेखक तथा निर्देशक भारती, स्वेच्छा राउत, रमा थपलिया र सविन बास्तोलाको मुख्य भूमिका छ ।