पूजा शर्माको ‘दान्भी’ जेठ १० मा नआउने
नायिका पूजा शर्मा अभिनित फिल्म ’दान्भी’ पूर्व निर्धारित मिति जेठ १० गते प्रदर्शनमा नआउने भएको छ । पूजाले आइतबार फेसबुकमा स्टाटस लेख्दै यस बारे जानकारी गराएकी हुन् ।
‘प्रिय दर्शकहरु, हामीलाई थाहा छ तपाईहरु हाम्रो फिल्म ‘दान्भी’को प्रतिक्षा गरिरहनु भएको छ । दर्शकलाई अब लामो समय कुराउन हुँदैन भन्ने पनि हामीलाई थाहा छ । तर, फिल्म निर्माण गर्दा एउटा निर्माताको जुन खालको मिहिनेत र लगानी हुन्छ, त्यसले प्रतिफल पाउन पनि आवश्यक छ । म आफै पनि एक निर्मात्री भएकाले यो भावना वुझेकी छ । यसअघि हामीले जेठ १० गते फिल्म रिलिजको घोषणा गरेका थियौं । तर, यो मितीमा तीन वटा फिल्म रिलिज हुने भएपछि हामीले एकसाथ तीन फिल्म प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निणर्य गरेका छौं’, पूजा लेख्छिन्, ‘हामी ‘दान्भी’को नयाँ मिति घोषणा गर्ने तयारीमा छौं । तपाइहरुको माया र साथ यसअघि जसरी पाएको थियौं, त्यस्तै माया पाउने अपेक्षा छ । जेठ १० मा रिलिज हुन लागेका दुई फिल्मलाई सफलताको शुभकामना । अब जेठ १० गते ‘पुजार सार्की’ र ‘फर्की फर्की’ दुई मात्रै नेपाली फिल्महरु प्रदर्शनमा आउनेछन् ।’
रूपेश तामाङ निर्देशित फिल्ममा पूजा र कुन्साङ बोम्जनको मुख्य भूमिका छ । कुन्साङको डेव्यु फिल्म हो ।