फिल्म ‘होस्टेल ३’ मा ‘कुल ब्वाइ’ अनुबन्धित
फिल्म ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट चिनिएका पारस बम अनुबन्धित भएका छन् । टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट क्रिएटर’को रूपमा चर्चित बमलाई फिल्मको महत्वपूर्ण भूमिका र प्रमुख पात्रहरू मध्ये एकको लागि लिइएको निर्देशक सशान कँडेलले बताएका छन् ।
होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको यस फिल्मबाट डेब्यु गर्न लागेका पारस गीत समेत गाउँछन् । उनले ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस्’ लगायतका गीतहरूमा स्वर दिएका छन् । जुन पात्र फिल्मको स्क्रिप्टले ‘डिमान्ड’ गरेको छ त्यो पात्रमा कुल ब्वाइ सबै पक्षबाट उत्तम रहेकाले फिल्ममा अनुबन्ति गरिएको निर्देशक कँडेलले बताए । उनले यस फिल्मबाट पनि अघिल्ला भागहरूमा जस्तै कुल ब्वाइ सहितका अन्य केही स्टार कलाकारको जन्म हुने आशा राखे ।
‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । ‘होस्टेल ३’लाई भने सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् । यस वर्षको अन्त्यतिर ‘होस्टेल ३’को रिलिज लक्ष्य राखी काम अघि बढेको निर्देशकले बताएका छन् ।