कलेजका दर्शकबिच ‘रावायण’ को प्रचार
यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ले आफ्नो प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ । फिल्मले सुरुवाती चरणमा विशेषतः कलेजका युवा दर्शकमाझ आफ्नो प्राथमिकता दिएको छ ।
यही क्रममा आइतबार फिल्मको टिमले टेक्सास कलेजका विद्यार्थीमाझ प्रचार गर्यो । फिल्मका निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पूजा शर्मा र कलाकारद्वय प्रमोद अग्रहरि र प्रकाश शाहले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा फिल्मबारे जानकारी दिएका हुन् ।
निर्देशक सुदर्शन थापाले ‘रावायण’को कथावस्तु अहिलेको युवापुस्ताका लागि फरक लाग्ने बताए । उनले ‘रामायण’को सुरुवात रामले गरे जस्तै ‘रावायण’को सुरुवात रावणले गर्ने जनाए । निर्मात्री तथा नायिका पूजा शर्माले दर्शकले आफ्ना अघिल्ला फिल्मलाई साथ दिएजस्तै ‘रावायण’लाई पनि साथ दिनेमा आफू ढुक्क रहेको बताइन् ।
कार्यक्रममा प्रमोद र प्रकाशले फिल्ममा आफूले बोलेको संवाद सुनाएका थिए । उनीहरुले संवाद सुनाइरहँदा दर्शक दिर्घाबाट हुटिङ र तालीले स्वागत गरेका थिए । अभिनेता पल शाह भने यही साताबाट प्रचार प्रसारमा सहभागी हुनेछन् ।