अरुणिमा र विमलेशको ‘घर बट इन अमेरिका’को फस्टलुक
अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा निर्माण भएको वेभ सिरिज ’घर बट इन अमेरिका’ को पहिलो झलक सार्वजनिक गरिएको छ ।
यस सिरिजको निर्देशन बिमलेश अधिकारीले गरिरहेका छन्, जसले हालै सामाजिक सञ्जालमार्फत फस्ट लुक पोस्टर सार्वजनिक गर्दै सिरिजको औपचारिक घोषणा गरेका छन् । “हाम्रो वेब सिरिज ’घर बट इन अमेरिका’को फस्ट लुक प्रस्तुत गर्दैछु । यो विदेशबाट नेपाली कथा वाचनमा एउटा महत्वपूर्ण कोशेढुंगा हुनेछ । यस पवित्र दिन श्रीकृष्ण जन्माष्टमीको अवसरमा, हामी सृजनशीलता र संस्कृतिको उत्सव मनाउँदै छौँ । यो सपना साकार गर्न सहयोग पुर्याउने सबैलाई हार्दिक धन्यवाद । आगामी वेब सिरिजले विश्वभरका मनहरूलाई जोड्नेछ । जय श्रीकृष्ण !“ पोस्टर सार्वजनिक गर्दै बिमलेशले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
यो सिरिजबाट अभिनेत्री अरुणिमा लम्सालले दश वर्षपछि अभिनयमा फर्किएकी छन् । उनले हालसालै विवाह समेत गरेकी छन् । अरुणिमा सहित वेभ सिरिजमा बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, समारोह मैनाली, र रोजिना थापा लगायतका कलाकारहरूको प्रमुख भूमिका रहनेछ । ’घर बट इन अमेरिका’ सिरिजको सम्पूणर् छायाङ्कन संयुक्त राज्य अमेरिकामा नै भइरहेको छ । सिचुएशनल कमेडी-ड्रामा विधामा निर्माण भइरहेको यो सिरिजलाई विवेक चम्लागाईंको लेखेका छन् । सिरिजमा गोप्य रूपमा लिभ-इन रिलेशनसिपमा रहेकी छोरी र नेपालबाट पहिलो अमेरिकी भ्रमणमा पुगेका आमाबुवाको वरपरका घटनाहरूलाई प्रस्तुत गरिएको छ ।
सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको हो । निर्देशक तथा कलाकार बिमलेश अधिकारीले यस सिरिजको अवधारणासमेत तयार पारेका छन् । सिरिजमा रोशन घिमिरे लाइन प्रोड्युसर, विवेक रसाइली सहायक निर्देशक, पशुपति बस्याल छायाङ्कनकर्ता, र अप्सरा कटुवाल मेकअप आर्टिस्टको रूपमा छन् ।