कात्तिक १५ मा ‘पूर्ण बहादुरको सारङ्गी’ बज्ने
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ पनि तिहारकै अवसरमा प्रदर्शन हुने भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिती पक्का गरिएको हो । फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले लक्ष्मीपूजा, कात्तिक १५ गते विश्वभर प्रदर्शन गराउने भएको छ ।
सार्वजनिक पहिलो पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । झुस्स दारी जुंगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ । त्यसको ठिक तल प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफिदै घरतिर कुदिरहेका छन् । यसले उनी स्कुलको कुनै कक्षामा सबलाई टपेर प्रथम भएको संकेत गरिरहेको छ ।
प्रकाश र विजयको खुसीले उनीहरु एकै घरका सदस्य हुन् भनेर अनुमान लगाउन सकिन्छ । तर, यसबारे निर्माणपक्षले केही जानकारी दिएको छैन । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका विनोद पौडेल र प्रतीक सुवेदी निर्माता हुन् । यो फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो । सोसल-ड्रामा जनरा निर्माण भएको फिल्मले नेमा गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।