शान्ति पदयात्रा सहित ‘वसन्त’को छायाँकन प्रारम्भ
प्रकाश सपुतको डेव्यु निर्देशकिय फिल्म ‘वसन्त’ को छायांकन सुरु गरिएको छ । शनिबार बागलुङको कालिका मन्दिरमा शुभ साइत गर्दै फिल्मको छायांकन सुरु गरेका हुन् । फिल्मको शुभ साइतमा सर्जक सपुत सहित अभिनेत्री स्वस्तिमा खड्का लगायत अन्य प्राविधिक र कलाकार उपस्थित थिए ।
कलाकार र प्राविधिक सहित बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ समेत सहभागी थिए । गायक तथा निर्देशक सपुतकै जन्मथलो धम्जा गाउँ सहित बागलुङका विभिन्न स्थानमा २५ दिनसम्म छायांकन गरिनेछ । राजधानी काठमाडौं र तराईका विभिन्न लोकेसनमा छायांकनको दशैं र तिहारको बीचमा गरिने छ । फिल्म छायांकनको लागि कास्ट एण्ड क्रू शनिबारै बागलुङ बजारदेखि धम्जा लागेका छन् । फिल्मलाई सुसन प्रजापतिले छायांकन गर्दैछन् ।
फिल्ममा स्वस्तिमा र प्रकाशसहित प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय रहनेछ । यो सोसल ड्रामा सिनेमामा निर्देशन सहित पटकथा र संगीत पनि सपुतकै हुनेछ । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्ष यसको कथा हो ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । फिल्म चैते दशैंको अवसर पारेर आगामी चैत २२ गते प्रदर्शनमा आउनेछ ।