दूर गाउँबाट ‘लाज शरणम्’को छायांकन सुरु
फिल्म ‘लाज शरणम्’को छायांकन सुरु भएको छ । चर्चित टिभी श्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको फिल्मको डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिकाको दूरगाउँबाट छायांकन सुरु गरिएको हो ।
फिल्मका मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र विजय बरालको मुहूर्त सट दिएका थिए । यो फिल्मलाई कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरिरहेका छन् । फिल्मको छायांकनका लागि यतिबेला सबै कलाकार डोल्पामा पुगेका छन् । डोल्पामा ४० दिनसम्म छायांकन हुनेछ । दशैंअघि काठमाडौंमा पनि छायांकन गरिने निर्माण टिमले जानकारी दिएको छ ।
फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राराई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ । सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण हुने फिल्म फागुन १४ गते महाशिवरात्रीको अवसरमा नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ । अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह-निर्माताको रुपमा रहेका छन् ।