‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट
फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको छ । समुन्द्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १५ देखि १८ सम्म अमेरिकाको सियाटलमा आयोजना हुने अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको हो ।
जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियो जस्ता प्रतिष्ठित फिल्म संस्थाहरू पनि सहभागी हुनेछन् । अभिनेता नाजिर हुसैन स्टारर फिल्म पारलैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको नेपाली हो । यस वर्षदेखि फिल्म मार्केट पनि सुरु गर्न लागेको तस्वीर फिल्म मार्केटले दक्षिण एसियाली डायस्पोराका फिल्म निर्माता र सर्जकलाई लक्षित गर्दै उनीहरूलाई फिल्म विकास र वितरणका लागि आवश्यक स्रोतहरू प्रदान गर्ने उद्देश्य राखेको छ ।
तस्वीर फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले मार्केटको थालनीलाई निकै सकारात्मक मानेकी छिन्। उनले यस फेस्टिभललाई अस्कर योग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रुपमा हेर्दै फिल्म निर्माताहरूका लागि यो महत्वपूणर् अवसर हुने बताएकी छन्।
फिल्म ’गुन्युचोलो’ मा नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । यो भूमिका नेपाली फिल्म जगतमा एक साहसी प्रयासको रुपमा हेरिएको छ । फिल्ममा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूणर् भूमिका निर्वाह गरेका छन्। यो फिल्म भट्टको दोस्रो निर्देशकीय फिचर हो । यसअघि उनले ’आधा पेज’ निर्देशन गरेकी थिइन्।
यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । यो फिल्मलाई फेस्टिभल सकिएपछि नेपालमा प्रदर्शन गरिने निर्देशक भट्टले जानकारी दिइन् ।