आर्यन सिग्देलले खेले अंग्रेजी भाषाको फिल्म ’फ्र्याक्चर’
’पुजार सार्की’ को सफलता पश्चात् किङ्डम नेटवर्कले आफ्नो दोस्रो ’फ्र्याक्चर’ निर्माण गरेको छ । अमेरिकाका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन गरेको यो फिल्म पूर्ण रूपमा अङ्ग्रेजी भाषामा रहेको छ ।
नेपालका अभिनेता आर्यन सिग्देलसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टको प्रमुख अभिनय रहेको छ । यस फिल्ममा बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायत अन्य नेपाली कलाकारहरूले पनि काम गरेका छन् ।
किङ्डम नेटवर्क हालै मात्र संयुक्त राज्य अमेरिकामा समेत स्थापना गरी यो चलचित्र निर्माण गरिएको निर्माता सुवास भुसालले बताएका छन् । भुसालले यस चलचित्रले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अन्तर्राष्ट्रिय बजार र दर्शकसँग जोड्ने नयाँ प्रयासको प्रतिनिधित्व गर्ने जनाए ।
यस फिल्मका अभिनेता ट्रेन्टन हलिउड अभिनेता हुन् । उनले ‘हलीउड किल्स,’ ’अन्डर द वेस्टर्न सन,’ ’सिरोनिया,’ ’द रेड, ब्ल्याक एन्ड ब्लोन्डः गड सेभ,’ ’बिटविन किंग्स एन्ड क्विन्स,’ ’लस एन्सिनोस’ लगायतका चलचित्रहरू र दर्जनौँ टेलिभिजन शृङ्खलामा अभिनय गरेका छन् ।
यस चलचित्रको निर्माणमा क्रिश बेरुटी, हिमाल आरोहण विशेषज्ञ एन्ड्रयु ह्युज, दुई पटक एमी पुरस्कार विजेता निर्माता गर्रेट म्याडिसन लगायतको पनि सहभागिता रहेको छ । चलचित्रको लेखन यसका निर्माता क्रिश बेरुटीले नै गरेका छन् । चलचित्रका सिनेमाटोग्राफर डकोटा डियल हुन् । उनले ‘आर्मी अफ द डेड,’ ‘नेक्स्ट अफ किन,’ ‘एनएफएल ३६०ः द गिफ्ट अफ गाबा’ लगायतका चलचित्रको छायाङ्कन गरेका छन् ।
यो चलचित्रको प्रायः दृश्यहरू नेपालमा छायाङ्कन गरिएको छ । चलचित्रका करिब ७० प्रतिशत दृश्यहरू काठमाडौं, ललितपुर, भक्तपुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्पसम्म पुगी छायाङ्कन गरिएको छ ।
’फ्र्याक्चर’को कथा एक जना अमेरिकी सैनिक ज्याक स्टेन्टन नामक पात्रको वरिपरि घुम्छ, जसले आफ्नो नेपालमा हराएको साथीलाई बचाउन नेपालको सगरमाथा क्षेत्रको खतरनाक यात्रा गर्छ । यस चलचित्रमा मानवीय साहस र सङ्घर्षलाई पर्दामा जीवित रूपमा उतारिएको निर्देशक ट्राभिसले जनाए ।
यो चलचित्र कहिले रिलिज गर्ने भन्ने विषयमा भने अहिले नै तय नभएको निर्माता भुसालले बताए । यद्यपि, विश्वव्यापी रिलिजको लागि छलफल भइरहेको उनले बताए । नेपालमा मनोज जोशी प्रोडक्सन कन्ट्रोलरको काम गरेका छन् भने विकास सुवेदी लाइन प्रोड्युसर हुन् ।