अब माघ ११ गते ‘मिसिङः केटी हराएको सूचना’ आउने
फिल्म ‘मिसिङः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिती सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार फिल्म आगामी माघ ११ गते अर्थात् जनवरी २४, २०२५ मा रिलिज हुनेछ ।
निर्माण पक्षले फिल्मका प्रमुख पात्र नाजिर हुसेन र सृष्टि श्रेष्ठ एकअर्कामा अडिएर उभिएको तस्वीर सार्वजनिक गर्दै नयाँ रिलिज मिति बाहिर ल्याएको हो । यसअघि यो फिल्म गत कार्तिक ३० गते प्रदर्शन हुने पूर्व योजना थियो । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । फिल्ममा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको फिल्ममा उनकै स्क्रिप्ट लेखन छ ।
फिल्ममा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कणर्को अभिनय छ । फिल्ममा अमितेष शाह विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।