‘कार्साङ’ मार्फत ६ महिनापछि दर्शकमाझ दयाहाङ
अभिनेता दयाहाङ राई निकै लामो समयपछि हलमा आउँदैछन् । ‘कार्साङ’मार्फत पुस २६ गते उनी हलमा आउँदा उनको अघिल्लो फिल्म रिलिज भएको करिब ६ महिना हुनेछ । अर्थात् ६ महिनापछि दयाहाङ आफ्ना दर्शकमाझ आउँदै छन् ।
‘घर ज्वाईं’ असार २८ गते रिलिज भएको थियो । त्यसयता दयाहाङ अभिनीत ‘कार्साङ’ रिलिज हुन लागेको हो । आधा वर्षाको अन्तरालपछि दयाहाङ हलमा आउँदा दर्शकको साथ पाउने अपेक्षा निर्माणपक्षको छ । ‘घर ज्वाईं’ पनि व्यापारिक रूपमा सफल चलचित्र हो ।
आम ग्रामीण परिवेशको एक पारिवारिक जिम्मेवार अभिभावकको भूमिकामा दयाहाङ देखिने भएका छन् । अभाव र दुःखबीच आफ्नो जातिको संस्कारलाई जोगाउने इमान्दार चरित्रमा उनी देखिनेछन् । अभाव र इमान्दार समाजका भुइँ मान्छेहरू कसरी आफ्ना-आफन्त र समाजबाट पाखा लगाइन्छन् भन्ने ‘कार्साङ’ले देखाउने यसको टिजरले देखाइसकेको छ ।
टिजरले भुइँ मान्छेको कथा ‘कार्साङ’ले भन्ने र यो कथा दयाहाङमार्फत् भनिने प्रष्ट पारेको छ । यो चलचित्रले गरिबीमा जीवन बिताइरहेका आम नेपालीको कथा भन्दा दर्शकले शेर्पा समुदायको कल्चर पनि अनुभूत गर्न पाउनेछन् ।
प्रायः दयाहाङ हाइफाइ र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका कलाकार हुन् । यसपटक पनि उनी शेर्पा समुदायको कथा लिएर दर्शकलाई भेट्न आउँदैछन् ।
‘कार्साङ’ यम शेर्पाको डेव्यु निर्देशन हो । ‘कार्साङ’को कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।
चलचित्रमा अभिनेता दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा पुरुषोत्तम प्रधान छायांकार हुन् । उनी निर्माता पनि हुन् ।
फिल्मको सहनिर्माता गोविन्द बोहरा हुन् भने कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् ।