पल शाह ‘महाराजधिराज’ बने, ०८२ को दशैंमा रिलिज हुने
अभिनेता पल शाहको मुख्य भूमिकामा फिल्म ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको छ र माघे संघ्रान्तीको अवसर पारेर फिल्मको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ । पोस्टरमा पललाई महाराजा र वस्त्र बिना देख्न सकिन्छ ।
फिल्मको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ । पोस्टरमा दुईवटा कलाकार देखिएका छन् । एकजना राजर्षी पहिरनमा रहेको देखिन्छन् भने अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत गरिएको छ । राजर्षी पहिरनमा रहेका व्यक्तिले शीरमा श्रीपेच र हातमा राजदण्ड बोकेर उभिएका छन्, जसले उनी राजा भएको संकेत गर्दछ ।
उनको अगाडि कुर्सीमा बसेका नग्न व्यक्ति शारीरिक रूपमा निकै कमजोर देखिन्छन् । यो तस्बिर भित्तामा फ्रेममा राखिएको जस्तो देखिन्छ । यसले आफ्ना दरसन्तानको सम्झनामा पछिल्लो पुस्ताले फ्रेमिङ गरेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, प्रष्ट छैन ।
यो फस्टलुकले समस्या आफैँमा रहेको झल्को देखिन्छ । ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ लेखिएको स्लोगनले व्यक्ति स्वयंमा समस्या रहेको संकेत गर्छ । राजा होस् वा नागरिक समस्या हरेक व्यक्तिमा छ भन्ने यो स्लोगन र पोस्टरले बताउँछन् ।
छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुति रहेको ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । बिराजले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए भने निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए । फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका छन् । यो फिल्म दसैँको फूलपातीमा आउने निर्माण टिमले बताइएको छ।