’जनै हराएको बाहुन’मा विजय बराल अनुबन्धित
फिल्म ’जनै हराएको बाहुन’मा अभिनेता विजय बराल अनुबन्धित भएका छन् । फिल्ममा प्रमुख भूमिकाको लागि बराललाई अनुबन्धन गरिएको निर्देशक हिमाल न्यौपानेको भनाई छ।
बरालले ‘जनै हराएको बाहुन’ स्क्रिप्ट मन परेर फिल्ममा आवद्ध भएको प्रतिक्रिया दिएका छन् । फिल्मको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् । यो फिल्मले गाउँबाट शहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो फिल्मले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ । फिल्मका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् ।
फिल्मका लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिन भित्रै सार्वजनिक गरिने बताइएको छ । यो वर्षको अन्त्य सम्ममा फिल्मको छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको छ । जनै हराएको बाहुन लाई २०८२ सालमा दर्शकमाझ आउने लक्ष्य राखिएको छ ।
यो फिल्ममा नवीन गुरुङ छायाँकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ’ज्याक ’ हुन् भने एसोसियट निर्देशक ’प्रेम गीत – ३’का कलाकार मनिस राउत हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।