यस्ता छन् बक्स अफिसमा ‘सन्जु’का रेकर्ड
बलिउड फिल्म ‘सन्जु’ले घरेलु बक्स अफिसमा रेकर्ड सेट गरेको छ । प्रदर्शनको पहिलो साता नै २ सय करोड क्लबमा इन्ट्री गर्दै ‘सन्जु’ रनबिर कपूरको करिअरकै सर्वाधिक कमाउने फिल्म पनि बनेको छ ।
बलिउड बक्स अफिसको आँकडा हेर्दा पहिलो साता सर्वाधिक कमाई गर्ने फिल्मको सुचीमा यो तेस्रो नम्बरमा उक्लिएको छ । पहिलो सात दिनको कमाईमा ‘सन्जु’ भन्दा अगाडी ‘टाइगर जिन्दा हे’ र ‘बाहुबली २’ छन् । यसको एक हप्ते कलेक्सन नै २ सय २ करोड ५१ लाख पुगेको छ । ‘सन्जु’ साल २०१८ मा पहिलो साता सर्वाधिक कमाउने फिल्म पनि हो ।
‘सन्जु’को पहिलो साताको कमाई
पहिलो दिन ३४.७५ करोड, ३८.६० करोड, तेस्रो दिन ४६.७१ करोड (सिंगल डे कलेक्सनमा रेकर्ड), चौथों दिन २५.३५ करोड, पाँचौं २२.१० करोड, छैटौँ दिन १८.९० करोड र सातौँ दिन १६.१० करोड कमाउन सफल भयो ।
निर्देशक राजकुमार हिरानीको सर्वाधिक कमाउने दोश्रो फिल्म
निर्देशक हिरानीको सर्वाधिक कमाउने फिल्म ‘पिके’ हो । २०१४ मा रिलिज भएको ‘पिके’ले घरेलु बक्स अफिस मै ३ सय ४० करोड कमाई गरेको थियो । हिरानीको २०११ मा रिलिज भएको ब्लकबस्टर ‘थ्री इडीएट्स’को लाइफटाइम कलेक्सन ‘सन्जु’ पहिलो साता नै पार गरिदिएको छ । ‘थ्री इडीएट्स’को लाइफटाइम कलेक्सन भन्दा ‘सन्जु’को पहिलो साताको कमाई ४ लाख बढी हो ।
‘सन्जु’को दोश्रो साताको कलेक्सनले ‘पिके’को रेकर्ड तोड्न सक्ने/नसक्ने निर्क्यौल गर्नेछ । स्मरण रहोस् ‘पिके’ले पहिलो साता १ सय ८३ करोड कमाई गरेको थियो ।
बक्स अफिस सुचीको दोश्रो नम्बरमा रनबिर
यो वर्ष ६ महिना बित्दा रणवीर सिंहले बलिउड बक्स अफिसको ताज पहिरिरहेका छन् । र त्यो ताज रनबिरले पछ्याउँदै छन् । जनवरीमा रिलिज रणवीरको ‘पद्मावत’ले ३ सय २ करोड कमाई गरेको थियो । जुन यो वर्ष प्रदर्शित जुनसुकै अभिनेताको भन्दा बढी हो । ‘सन्जु’ले पहिलो साता नै २ सय करोड कमाई गर्दा ‘पद्मावत’को कलेक्सनलाई सजिलै उछिन्ने अनुमान गरिएको छ । ‘पद्मावत’ले पहिलो साता १ सय ६६ करोड कमाई गर्दै ३ सय करोड क्लबको यात्रा तय गरेको थियो ।
‘सन्जु’ले दर्शक तथा समिक्षकबाट मिश्रीत प्रतिक्रिया पाइरहेको छ । बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्ममा रनबिरका अलावा परेश रावल, विक्की कौसल, मनिषा कोइराला, अनुष्का शर्मा, दिया मिर्जा, सोनम कपूर, जिम सर्ब लगायतका कलाकारको अभिनय छ ।