विराजको ‘सत्यवीर’मा प्रकाश अनुबन्धित
विराज खड्काको निर्देशनमा निर्माण हुन लागेको फिल्म ’सत्यवीर’मा अभिनेता प्रकाश शाह अनुबन्धित भएका छन् । ’लभ स्टेशन’, ’साङ्लो’, र पछिल्लो रिलिज फिल्म ’रावायण’का प्रमुख खलपात्र शाहलाई सोमबार अनुबन्धन गरिएको टिमले जानकारी गराएको हो ।
कलाकार शाहलाई अनुबन्धन गरिएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालीले जनाएको छ । फिल्ममा शाहको भूमिका बारे केही पनि खुलाइएको छैन् । सार्वजनिक पोस्टरमा शाहलाई ’एङ्ग्री’ लूक्समा देख्न सकिन्छ । पोस्टरमा प्रकाश सिगार पिउँदै गरेका शाहको पृष्ठभूमिमा जंगल, हात्तीको बंगारा र सुढ देख्न सकिन्छ । फिल्मको लागि पोस्टर उत्सव पाण्डेले तयार गरेका हुन् । पोस्टरामा जोडिएका दृश्यले फिल्मले क्राइम थ्रीलर संकेत गर्छ । यसअघि अभिनेता प्रदीप चौधरीको फर्स्ट्लूक सार्वजनिक गरेको निर्माण टिमले फिल्मको पूणर् कास्टिङ लाइनअप सार्वजनिक गरेको छैन । यसैले नि शाहको पात्र प्रतिनिधि पोजिटिभ या नेगेटिभ खुल्न बाँकी छ ।
‘सत्यबिर’को निर्मातामा आदेश सुब्बा छन् । विराज खड्काको निर्देशनमा बन्ने फिल्म आगामी डिसेम्बरबाट फ्लोरमा जानेछ । एक दशक लामो समयदेखि भिएफएक्स तथा एनिमेसनमा सकृय खड्काको ठुलोपर्दाको लागि निर्देशनमा यो डेब्यू फिल्म रहनेछ । उनले ‘डिज्ने’, ‘पिक्सार’ जस्ता कम्पनिको लागि हलिउड फिल्म ‘स्टार वार’, ‘लेगो’ लगायतमा भिएफएक्स र एनिमेसनको काम गरेका छन् । खड्काले नेपालमा ‘प्रेमगीत ३’, ‘बाँबरी’, ‘कांडेतार’ लगायतका दर्जनौं फिल्ममा भिएफएक्स सुपरभाइजरको काम गरेका छन् ।
काठमाडौंमा भिएफएक्स र एनिमेसन स्कुल सञ्चालन गरेर सयबढि विधार्थीलाई खड्काले प्रशिक्षण दिएरहेका छन् । २१ औं शताब्दीको टेक्नोलोजीको समयमा नेपाली फिल्मलाई उच्च कोटीमा पुर्याउने उद्देश्यसहित फिल्म निर्देशनमा जुटेको खड्काले बताए । उनले यसअघि एक दर्जन सर्ट फिल्म र म्युजिक भिडियो निर्देशन गरेका छन् ।
खड्काले यो फिल्ममा ४० प्रतिशत दृश्य भिएफएक्स रहने बताए । बाँकी ६० प्रतिशत दृश्य काठमाडौं र चितवन लगायत तराई क्षेत्रमा छायांकन गरिनेछ । ‘सत्यबिर’को कथा प्रदीप चौधरीको नै हो । साढे २ करोडको लागतमा निर्माण हुने फिल्ममा परिचित कलाकारहरू नै प्रमुख अभिनयमा रहने निर्माता सुब्बाले बताए ।
शाहसँगै कलाकारमा प्रदीप चौधरी र द्वन्द्व निर्देशकमा हिमाल केसी बाहेक निर्माण कम्पनिले फिल्मको ‘कास्ट एण्ड क्रु सर्वजनिक गरेको छैन् । केही हप्तामा औपचारिक कार्यक्रमसहित कास्ट एण्ड क्रू सार्वजनिक गर्ने निर्माण टिमले बताएको छ ।