राजेश र कमलले तताउने भए नेपालगञ्ज
मध्य पुसमा नेपालगञ्ज गुञ्जने भएको छ । पुस १६ गते आधा दर्जन राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित नेपालगञ्ज गुञ्जने भएको हो । बलामी फिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा म्युजिक फेस्टिभल गरिने जनाएको छ ।
जस अन्तर्गत नेपालगञ्जको शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा नेपालगञ्जमा अंग्रेजी नयाँ बर्षको छेको पारेर म्युजिक फेटिभलको पहिलो आयोजना गर्न लागिएको आयोजक समीर बलामीले बताएका छन् । नेपालगञ्ज र कोहलपुरको बिच गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु ईयर ईभ सहितको म्युजिक फेस्टिभल हुने भएको हो ।
कार्यक्रममा गायक राजेश पायल राई, कमल खत्रीको साथै नेपाल आईडल सिजन १ का सुरज थापा र सुजाता पाण्डेले प्रस्तुती दिनेछन् । हाँस्य कलाकार सन्दिप क्षेत्रीले कार्यक्रममा दर्शकहरुलाई हसाँउनेछन् । कार्यक्रमलाई नरेश भट्टराईले संचालन गर्नेछन् ।
मध्य पश्चिममा यो अहिले सम्मकै ठुलो म्युजिक फेस्टिभल भएको स्थानिय आयोजक शारदा ईभेन्टसका रोनिश गौतमले बताएका छन् । अहिले प्रचार प्रसारको काम सुरु भएको छ । कार्यक्रम १५ बर्ष देखी ६० बर्ष सम्मका दर्शकहरुलाई लक्षित गरिएको छ ।
कम्तीमा ७ हजारदेखि १० हजार दर्शकको लक्ष्य राखिएको कार्यक्रमका लागि नेपालगञ्जका सबै कलेजहरुमा क्याम्पियन सुरु गरिएको छ ।