सुदर्शनको फिल्ममा पल र पुजाकै जोडी, जोडिए सलोन पनि
यस वर्षको पहिलो सफल फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल बन्ने भएको छ । निर्देशक सुदर्शन थापाको जन्मदिन पारेर ‘म यस्तो गाउँछु २’ बन्ने बुधबार जानकारी गराइएको हो । थापाको निर्देशन रहने फिल्ममा पूजा शर्मा र पल शाहको जोडी दोहोरिने छ भने नायक सलोन बस्नेत थपिएका छन् । सलोनले प्रदर्शनरत फिल्म ‘ए मेरो हजुर २’ बाट प्रशंसा पाइरहेका छन् ।
अर्को वर्ष प्रदर्शन गर्ने गरी ‘म यस्तो गीत गाउँछु २’ को छायाँकन थालिने निर्देशन थापाले बताएका छन् । ‘हामीले यो छोटो जानकारी मात्रै गराएका हौ’, निर्देशकले भने, ‘सबै कलाकार तथा प्राविधिक तय गरेर हामी अर्कै ग्रान्ड प्रेसमिट गर्नेछौं ।’ सुदर्शन र पुजाको संयुक्त लगानीमा निर्माण हुने फिल्ममा अर्जुन पोखरेले संगीतकारको रुपमा रहनेछन् । ‘म यस्तो गीत गाउँछु’ ले पुजा र सुदर्शनलाई नाफा दिएको छ ।