काठमाडौंमा ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो
यो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो सम्पन्न भएको छ । मंगलबार काठमाडौंको केएल टावरस्थित एफक्युव हलमा फिल्मको प्रिमियर शो आयोजना गरिएको हो ।
प्रिमियर शोमा आयोजित छोटो औपचारिक कार्यक्रममा निर्देशक सरोज पौडेलले फिल्म नितान्त मनोरन्जनका लागि बनाइएकाले त्यसैअनुसार दर्शकबाट साथको अपेक्षा गरेको बताए । उनले भने, ‘हामीले यो एउटा प्रयास गरेका छौं । अर्को कुरा म पनि यसै फिल्मबाट निर्देशन यात्रा थालेको छु । आशा छ दर्शकले मेरो यो उद्योगमा आगमनलाई सहर्ष स्विकार्नु हुनेछ ।’
त्यस्तै कार्यक्रममा कलाकार बुद्धी तामाङले अरु फिल्ममा भन्दा यस पटक केहि फरक प्रयास गरेको र दर्शकले फिल्म हेर्दासम्म दिक्क नमान्ने बताए । अभिनेता विनोद न्यौपानेले आफ्नो करिअरमा यो फिल्मले छुट्टै अर्थ राख्ने उल्लेख गर्दै दर्शकबाट साथ र माया पाउने अपेक्षा राखे ।
वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उतार चडाब लगायतका विषय वस्तुमा आधारित यो फिल्म क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । नेपाल बाहेक जापान, अष्टे्रलिया, अमेरिका र युरोपका केहि शहरमा पनि फिल्म प्रदर्शनको तयारी गरिएको छ ।
प्रिमियर शोमा निर्देशकहरु ज्ञानेन्द्र देउजा, नरेश पौडेल, डब्बु क्षेत्री, शोभित बस्नेत, दिपाश्री निरौलाको उपस्थिति थियो । यस्तै कलाकारहरु कृष्ण सिवाकोटी, मुकुन भुषाल, सलोन बस्नेत, मनिष राउत, गायक पवन गिरी लगायत प्रिमियरमा पुगेका थिए ।
तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन छ । फिल्ममा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको छ ।
केहि समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा वेलकम टु हेम्जाकोटले उत्कृष्ट नेपाली फिल्मको अवार्ड समेत जितेको थियो ।