’जिग्री’ बने अभय र आकाश, फागुन ४ मा रिलिज
सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’को तीन फरक पोस्टर र प्रदर्शन मिती सार्वजनिक गरिएको छ । फिल्म फागुन ४ गतेबाट प्रदर्शनमा आउने घोषणा गरिएको हो ।
कमेडी-क्राइम-एक्सन-ड्रामाको मिश्रण रहेको उक्त फिल्म जिग्री लाई आकाश मगरले निर्देशन गरेका हुन् । फिल्ममा अभयराज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायत अन्य कलाकारहरुको अभिनय छ ।
फिल्म जिग्री काठमाडौँमा अनेकन् महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई युवाको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य विषयवस्तु रहेको छ । वर्तमान समयमा आम नेपाली युवाहरूको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यस अवस्थाले निम्त्याएका घटनाहरूलाई जिग्रीले कमेडी, क्राइम र एक्सन शैलीबाट दर्शक माझ देखाउन खोजेको छ ।
फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् ।