मीन भाम निर्देशित ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिलभलमा छनोट
मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ । उक्त फेस्टिभलको यो विधामा छनोट हुने ‘साम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो ।
तस्बिर : विष्णु शर्मा
सोमबार प्रेसमिट गर्दै यस बारे जानकारी गराइएको हो । कार्यक्रममा बर्लिन फिल्म फेस्टिभलको लाइनअपको घोषणालाई प्रत्यक्ष रुपमा देखाइएको थियो भने फिल्मको पोस्टरसमेत सार्वजनिक गरियो । उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिंडेको कथा फिल्मले प्रस्तुत गर्छ । फिल्मलाई भाम र अविनाशविक्रम शाहले मिलेर लेखेका हुन् ।
सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिङ डल्हा लगायतको मुख्य भूमिकामा प्रस्तुत छन् । फिल्मले थुप्रै अन्तर्राष्ट्रिय ‘ग्रान्ड’ जितिसकेको छ । डोल्पामा छायांकन गरिएको यो फिल्मको बजेट करिब १४ करोड रुपैयाँ रहेको जनाइएको छ ।
मिन भामको पहिलो फिल्म ‘कालोपोथी’ नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो भने भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो ।