नीति शाहको ’खजुरे ब्रो’मा हर्क साम्पाङको विशेष भूमिका
फिल्म ’खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकामा अभिनय गरेका छन् । विशेष भूमिका निर्वाह गरेका साम्पाङको सुटिङ समेत सकिएको निर्माण पक्षले जानकारी गराएको छ ।
’धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ,’ कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भनेका छन्, ’फिल्ममा उहाँको बिशेष भूमिका हुनेछ ।’ फिल्मले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाई छ ।
दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा बनिरहेको चलचित्र ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । कमेडी जनरामा बन्ने फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन् । नीति शाहको डेव्यु फिल्ममा रेयर राई, महेश त्रिपाठी नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका छ । फिल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ।
फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाँकन गर्ने फिल्ममा अनमोल गुरुङको संगीत रहेको छ । फिल्मको हाल धरानमा छायाँकन भैरहेको छ ।