रमित ढुंगानाको ‘नमेटिने घाउ’मा केपी ओलीले अभिनय गर्ने
निर्माता तथा अभिनेता रमित ढुंगानाको डेव्यु निर्देशकिय फिल्म ‘नमेटिने घाउ’मा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अभिनय गर्ने भएका छन् ।
आइतबार राजधानीमा आयोजित फिल्मको औपचारिक घोषणा कार्यक्रममा पुर्व प्रधानमन्त्री ओली समेत उपस्थित थिए । फिल्ममा उनी एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुनेछन् । फिल्ममा तेजाब आक्रमणमा परेका किशोरी र महिलाको जीवनका कथालाई समेटिनेछ । एसिड आक्रमणपछिको दृश्यमा मुस्कान खातुककै अभिनय रहनेछ, जो एसिड आक्रमणमा परेकी थिइन् । एसिड आक्रमण हुनुभन्दा अगाडिको दृश्यमा भने रचना गौतम मुस्कान बन्नेछिन् । उनले पनि यही फिल्मबाट डेब्यू गर्न लागेकी हुन् ।
’एसिड आक्रमण जस्ता घटना घटिरहेका छन् । यो अन्त्य हुनुपर्छ । यसै अभियानमा जोडिएको छ, नमिटिने घाउ । यो एउटा अभियान र प्रभावकारी अंग हो,’ कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन् । मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन । एसिड आक्रमणले एक जनालाई मात्र पीडा दिएको हुँदैन । उनका साथीभाइ र परिवारलाई पनि बारम्बार पीडा दिइरहेको हुन्छ । नमेटिने घाउले केही हदसम्म यसलाई अन्त्य गर्छ भन्ने मलाई लागेको छ’ अध्यक्ष ओलीको भनाई छ ।
‘माया नमार’ र ‘बुद्ध वर्न इन नेपाल’पछि रमित ढुंगाना फिल्म निर्माणमा फर्किएका हुन् । उनले दर्जन बढी सफल फिल्महरुमा अभिनय गरेका छन् ।