‘पुजार सार्की’को ओभरसिज् राइट्स महंगोमा बिक्री
पोस्टरबाटै प्रशंसा पाउन सफल फिल्म ’पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ । पोस्टर रिलिजपछि प्राप्त प्रतिक्रियाले उत्साहित कम्पनी एमएसएम इन्टरटेन्मेन्टले यसको नेपाल बाहेकको हल रिलिज अधिकार उच्च मूल्यमा बिक्री भएको हो ।
निर्देशक दिनेश राउतले सो कम्पनीले उच्च मूल्यमा खरिद गरेको दाबी गरेका छन् । ‘हाम्रो चलचित्र ’पुजार सार्की’को फस्र्ट लुक पोस्टरप्रति दर्शकहरू तथा चलचित्रकर्मीहरूले देखाउनु भएको सकारात्मक प्रतिक्रियाले थप हौसला मिलेको छ । हामी कृतज्ञ छौँ’, निर्देशक राउत भन्छन्, ‘नेपाली फिल्मको बजारलाई विस्तार गर्ने उद्देश्यका साथ प्रवासमा बस्दै आउनु भएको नेपालीहरूको समूहले स्थापना गर्नु भएको कम्पनी एमएसएम इन्टरटेन्मेन्टलाई सबै अधिकार दिएको जानकारी गराउन चाहन्छौँ ।’
फिल्ममा अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्दैछन् । फिल्ममा अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । निर्माण युनिट छायाङ्कनको लागि आइतबार कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको छ ।
निर्देशक राउतले यो फिल्मलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । फिल्ममा विकास सुवेदीले लेखन रहेको छ भने निर्माण सुभाष भूषालले गर्दैछन् ।