‘हात्तीछाप’को सिक्वेल बन्ने, दिपकराज बन्लान् ‘बोतल राजा’ ?
प्रदर्शनरत फिल्म ‘हात्तीछाप’को सिक्वेल बन्ने भएको छ । निर्माता किरण नेपालीले आइतबार सामाजिक फेसबुक मार्फत हात्तीछाप २ बोतल राज बन्ने दाबी गरेका हुन् ।
‘२०८२ मा हात्तीछाप २ बोत्तल राजा आउँछ नै । २०८१ को लागि पनि तयारी छ । छिट्टै थाहा दिनेछौं !’ , निर्माता नेपालीले फेसबुकमा लेखेका छन् । फिल्मको क्लाइमेक्समा बोतल राजको रुपमा अभिनेता दिपकराज गिरीलाई प्रस्तुत गरिएको छ । के फिल्ममा दिपकराज बोतल राजाको रहलान् त ? गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘हात्तीछाप’ले शनिबार सुखद कमाई गरेको वितरक रोहित कट्टेलले जानकारी दिएका छन् । देशभरका हलमा नै सुखद कमाई गरिरहेको बताउँदै उनले आगामी दिनमा व्यापार अझै बढ्ने विश्वास व्यक्त गरे ।
शनिबार काठमाडौंको केएल टावरस्थित एफक्यूब हलमा फिल्म हेर्न पुगेका दर्शकले फिल्म ‘गज्जब’ रहेको बताए । फिल्मले देशको समसामयिक कथावस्तुलाई प्रस्तुत गरेको भन्दै उनीहरुले उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । फिल्म हेरेर फर्किएका केही दर्शकले भने ‘हात्तीछाप’को कथावस्तु नयाँ रहेको भन्दै सिक्वेलको प्रतिक्षा रहेको बताए । फिल्मको अन्तिममा सिक्वेलको घोषणा समेत गरिएकाले चाँडै नै तयार हुने आशा उनीहरुको थियो ।
फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले दर्शकको प्रतिक्रिया सुखद आएको र शनिबारको व्यापार पनि बढेको बताउँदै आगामी दिनमा पनि व्यापारको ट्रेन्ड यस्तै रहने विश्वास व्यक्त गरेका थिए ।
हल पुगेकी नायिका उपासना सिंह ठकुरीले निकै राम्रो प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘मलाई एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ । दर्शकले मेरो भूमिका र फिल्मलाई नै मन पराउनु भएको छ । म निकै नै उत्साहित छु ।’
यस्तै, उनले फिल्मले गाउँको एउटा सुन्दर प्रेमकथा र बोतल राजाको कथालाई प्रस्तुत गरेको भन्दै सबैलाई हेर्न आग्रह गरिन् । यस्तै, कलाकार बुद्धि तामाङले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको बताए । उनले, पनि फिल्मले पूणर् रुपमा मनोरञ्जन दिने भन्दै सबैलाई हेर्न आग्रह गरे ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, विल्सन विक्रम राई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।