शनिबार ‘दयारानी’को सुखद् व्यापार
अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको प्रमुख भूमिका रहेको फिल्म ‘दयारानी’ले सुखद सुरुवाती व्यापार गरेको छ । फिल्मले शुक्रबार दिउँसको शोबाट रफ्तार लिएको वितरकको भनाई छ । शनिबार देशका कतिपय हलहरु हाउसफूल भए ।
फिल्म दयारानीले विशेषगरी मोफसलका हलहरुमा ८० प्रतिशतमाथिको अकुपेन्सी गरिरहेको छ । फिल्मका वितरक प्रचण्डमान श्रेष्ठले मोफसलका हलहरुमा बिहानैदेखि उत्साहजनक अकुपेन्सी देखिएको बताए । ‘पोखरा, बुटवल तथा दमकमा बिहानीका शो देखिनै अकुपेन्सी धेरै राम्रो छ । धरानमा शो थपिएको छ भने इटहरीमा फिल्मले राम्रो गरिरहेको छ भने दमौलीको अवस्था पनि राम्रो छ’, उनले भने । शनिबार हाउसफूलको व्यापार गरेको दयारानीको आइतबार पनि सुखद रहेको निर्माण पक्षको भनाई छ ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।
फिल्मले आफूमा बाबु बन्ने क्षमता नभएको तथ्य लुकाउँदा श्रीमती र परिवारको दबाबामा दोश्रो विवाह गर्नुपर्ने बाध्यतामा पुगेको पात्रको कथा पेस गर्छ ।