‘गाउँ आएको बाटो’को पहिलो गीत ‘राई माईला’ रिलिज
फिल्म ‘गाउँ आएको बाटो’को पहिलो गीत रिलिज गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर छ । गीत :
सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईलाई फिचर्ड गरिएको छ । यो गीतको भिडियोलाई निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । गीतमा समावेश दृश्यले सिनेमाको कथासार बुझाउन सहयोग गर्ने निर्माण टिमको विश्वास छ । जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागीता जनाइसकेको छ ।
बाबु छोराको स्नेही सम्बन्ध र खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । योसँगै छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर सिनेमाको कथा घुम्छ । सडकसँगै गाउँ आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तन तथा सडक र गाडी पुगेपछि परेको असरको कथा फिल्म ले भनेको छ ।
‘नुमाफुङ’ बनाएर फरक धारका फिल्मका लागि प्रशंसा बटुलेका निर्देशक नविन सुब्बाको यो तेस्रो फिल्म हो । उनले बनाएको दोस्रो फिल्म ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन । फिल्म गाउँ आएको बाटो लाई निर्देशक सुब्बाको कमब्याक फिल्मको रुपमा हेरिएको छ