बुकिङ खुल्यो : ‘लण्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ सुखद् लाई शो
यो शुक्रबारबाट प्रदर्शनमा आउने दुई फिल्महरु ‘लण्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’को अग्रीम टिकट बुकिङ खुल्ला भएको छ । यी भिन्न जनराका फिल्मले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म सुखद् शो संख्या पाएका छन् ।
ह‘गाउँ आएको बाटो’ केही बढि शो पाएको छ । देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा बुधबार दिउँसोसम्म कूल ३८ शोज पाएको छ । त्यसैगरी, फिल्मले दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईमा ९ शोज, वान् सिनेमाज् नयाँ बानेश्वर, एफक्युब, बिएसआर मुभिज, बिग मुभिजमा समान ३/३ शोज प्राप्त गरेको छ । अन्य केही हलमा भने बुकिङ खुल्न बाँकी नै छ ।
त्यस्तै, ‘लण्डन टू पेरिस’लाई क्यूएफएक्सको आउटलेटमा कूल २९ शो पाउँदा आईएनआईले ३ शोज, बिग मुभिज, वान् सिनेमाज्, एफएक्युब, बिएसआरले समान २/२ शोज दिएका छन् । केहीमा भने बुकिङ खुलिसकेको छैन ।
समग्रमा यी दुवै फिल्मले पहिलो दिन शुक्रबार देशभर डेढ सय हाराहारी शोज पाउने देखिन्छ । यसमा अकुपेन्सी र दर्शकको वर्डअफमाउथ राम्रो भएको अवस्थामा फिल्मले शनिबारबाट शोज बढाउनेछ ।
नवीन सुब्बाको निर्देशनमा बनेको ‘गाउँ आएको बाटो’ले गाउँको कथा भन्नेछ । फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रेम सुब्बा, प्रसन राई, खानुमा राई, केशव राई, प्रमिशा राईको मुख्य भूमिका छ । मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मसको संयुक्त ब्यानरमा बनाइएको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । फिल्मको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।
घनश्याम लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘लण्डन टू पेरिस’ भने ‘ट्राभल लभस्टोरी’ हो । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबीर खड्का र गरिमा शर्माको मुख्य भूमिका छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।
सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।