साम्राज्ञी र निश्चलको फिल्मलाई सबैले हेर्न मिल्ने
फिल्म ‘लण्डन टु पेरिस’ सेन्सर पास भएको छ । केन्द्रीय सिनेमा जाँच पास समिति (सेन्सर बोर्ड) बाट फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको हो । यो फिल्म यही जेठ २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।
सेन्सर पास भएसँगै अब यो फिल्म सबै वर्गका दर्शकले सजिलै हेर्न पाउने भएका हुन् । फिल्मको यसअघि सार्वजनिक प्रचार सामाग्रीबाट एडल्ट सर्टिफिकेट पाउने बुझाई धेरैको भएपनि फिल्मले युनिभर्सल सर्टिफिकेट पाएसँगै कार्यकारी निर्माता सनिश खकुरेलले खुशी व्यक्त गरेका छन् ।
उनले सेन्सरमा फिल्म हेरेका पदाधिकारीले नेपाल धेरैपछि एउटा राम्रो लभस्टोरी फिल्म निर्माण भएको प्रतिक्रिया दिएको उल्लेख गरे । नेपालमा पछिल्लो समय धेरै युवाहरु विदेश गइरहेका बेला यस्तो खाले सुन्दर लभस्टोरी फिल्म निर्माण गरेर सन्देश दिन खोज्नु आफैंमा सकारात्मक भएको भन्दै बोर्ड पदाधिकारीले धन्यवाद दिएको निर्माता खकुरेलले बताए ।
घनश्याम लामिछाने निर्देशित फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा नाकिया साम्राज्ञी राज्य लक्ष्मी शाह, नव नायक निश्चल खड्काको मुख्य भूमिका छ । साथमा नव नायिका गरिमा शर्मा, सँगै कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् ।