‘मोदीबेनी’को पोस्टरमा अमरको एक्सन, रहस्यमयी वर्षा
फिल्म ’मोदीबेनी’का दुई पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मको मुख्य भूमिकामा प्रस्तुत भएका प्रताप श्रेष्ठ र वर्षा सिवाकोटी प्रस्तुत छन् ।
पोस्टरमा यसै फिल्मबाट डेब्यु गरेका अभिनेता श्रेष्ठलाई ’एङ्ग्री योङ म्यान’को रूपमा देखाइएको छ । अर्को पोस्टरमा अभिनेत्री सिवाकोटीलाई भने रहस्यमय अवतारमा देखाइएको छ । प्रताप कुनै पहाडी इलाकामा हातमा बाँसको मोटो लट्ठी समाएर रिसाहा भावमा उभिएका छन् । उनको गालामा चिथोरिएको दाग छ, हातमा टाँका लगाइएको अवस्थामा छन् भने नाडीमा खतराको सङ्केत भएको कालो ब्रासलेट लगाएका छन् । पोस्टरको विश्लेषण गर्दा उनलाई एक्सन अवतारमा ’मोदीबेनी’मा देख्न पाइनेछ । अमरले ओजस थिएटरमा अभिनय प्रशिक्षण लिई केही नाटकमा अभिनय गरेका थिए ।
बर्षा पनि कुनै पहाडी इलाकामा उभिएकी छन्, उनको पछाडी उकालो बाटो छ । उनी थोरै बुट्टा भएको सेतो कपडामा छिन् । यस फिल्ममा वर्षा अमरको जोडीको रूपमा अभिनय गरेको भएता पनि पोस्टर भने अलग अलग सार्वजनिक गरिएको हो । यसबाट कथामा केही रहस्य लुकेको अनुमान लगाउन सकिन्छ । ’मोदीबेनी’का निर्देशक शङ्कर कोइरालाले फिल्मको कथामा आधारित रहेर पोस्टर तयार पारिएको बताएका छन् । सार्वजनिक पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन् ।
यस फिल्ममा अमर र वर्षा सँगै अभिनेत्री रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्मलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् ।