‘गाउँ आएको बाटो’ लिएर नविन र दया अमेरिका प्रस्थान
प्रदर्शनरत फिल्म ‘गाउँ आएको बाटो’का निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई अमेरिका प्रस्थान गरेका छन् । यही जुन २० देखि २३ सम्म अमेरिकाको मेरिल्यान्ड राज्यमा आयोजना हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन नविन र दया बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उक्त महोत्सवमा फिल्म ‘गाउँ आएको बाटो’को स्क्रिनिङ समेत हुँदैछ । सुब्बा र राई रेडकार्पेट प्रिमियरमा सहभागी हुनेछन् । मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा जुन २० (बिहीबार) मा ‘गाउँ आएको बाटो’ प्रदर्शन हुने भएको हो । राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको फिल्मले गाउँमा सडक आएपछि जीवनमा आउने उतारचढावको कथा प्रस्तुत गर्छ ।
फिल्म ‘गाउँ आएको बाटो’ मा दयाहाङ सहित अभिनेत्री पशुपति राई र नव बाल कलाकार प्रसन राईको शीर्ष भूमिका छ । फिल्मले नेपाली हलहरुमा दोश्रो सातामा सुखद व्यापार गरिरहेको छ ।