महायज्ञमा ‘मोदीबेनी’ जोडी वर्षा र अमर
साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सहभागी भएका छन् । मानव सेवा फाउन्डेसनको प्रमुख आयोजनामा भइरहेको सो महायज्ञमा नायिका वर्षा सिवाकोटी र नव नायक अमर प्रताप श्रेष्ठ मुख्य आकर्षण बने ।
म्हायज्ञमा बर्षा र अमर प्रतापसँगै कमलमणि नेपाल, दीपेन्द्र गौतम, लेखक आनन्द विक्रम क्षेत्री, निर्माता हरि श्रेष्ठ, पोस्टर डिजाइनर रोयल भीमसेन, मिडिया विभाग प्रमुख जीवन पराजुली लगायतको टिम पुगेका थिए । आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजा सहित महायज्ञ आयोजनास्थल पुर्याएको थियो । सो अवसरमा अभिनेत्री सिवाकोटीले भक्ति भावले जीवन सुन्दर हुने बताउँदै फिल्म रिलिजको सम्मुखमा आशीर्वाद लिनको लागि महायज्ञमा सहभागी भएको बताइन् ।
उनले सो महायज्ञकी कथा वाचिका राधिका दासको जीवन सङ्घर्ष तथा जीवन दर्शनको विचारहरूबाट आफू निकै प्रभावित रहेको जनाइन्। उनले महायज्ञलाई सफल बनाउन सबैले पवित्र मन र उद्देश्यबाट प्रेरित रहेको जिकिर गरिन् ।कलाकार कमलमणि नेपालले महायज्ञमा उपस्थितलाई सम्बोधन गर्दै आफूले अभिनय गरेको फिल्मलाई आशीर्वाद लिन आएको बताए । सो अवसरमा नेपालले एक भजन गाउँदै उपस्थितलाई भक्ति भावलाई झुमाएका थिए । महायज्ञमा सहभागी अभिनेता अमर प्रताप श्रेष्ठले आफूले पहिलो पटक अभिनय गरेको फिल्मलाई सफल बनाउन आफूले प्रार्थना गरेको प्रतिक्रिया दिए।
शङ्कर कोइरालाले निर्देशन गरेको यस फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन् । फिल्मलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यसमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ ।