१२ दिनमा ‘ह्रस्व दिर्घ’ हेर्न दाङमा हाउसफूल दर्शक
अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म ‘ह्रस्व दीर्घ’ ले प्रदर्शनको बाह्रौं दिनमा पनि दर्शकको साथ पाउन सफल भएको छ । फिल्म युनिट यतिबेला मोफसल अन्र्तर्गतको दाङका हलहरुमा पुगिरहेका छन् ।
अभिनेत्री ढुंगाना र अभिनेता तथा लेखक हरिहर अधिकारी त्यहाँको भिएफएक्स हल पुग्दा उल्लेख्य दर्शकले प्रेमभाव दर्शाएका छन् । नीता र हरिहरप्रति दर्शकले देखाएको सत्कारलाई ह्रस्व दिर्घ टिमले सामाजिक सञ्जालमा खुसीका साथ सेयर गरिहेको छ ।
चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दिर्घ ले पहिलो साता ५ करोड ५४ लाख ग्रसकलेक्सन गर्यो भने फिल्मले दोस्रो हप्ताको शनिबारसम्ममा ६ करोड ६९ लाख ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले बताएका छन् । फिल्मको यो कलेक्सन ९ दिसम्म देशभरको कलेक्सन हो । नेपाली र बलिउड कलाकर्मी अभिनित फिल्म हालपनि सुखद् रुपमा प्रदर्शन भैरहेको छ ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण के.सी लगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।