सुशिल श्रेष्ठको ‘द आउटल’ जपानमा रिलिज राइट्स विक्री
फिल्म ‘द आउटलः दफा २१९’को टिजर सार्वजनिक भएपछि फिल्मको विदेश अधिकार पनि विक्री हुन थालेको सुनिएको छ । यो फिल्मको जापान अधिकार समेत विक्री भएको छ ।
जापानमा फिल्म वितरण गरिरहेको यूएनए इन्टरटेन्मेन्टले यो फिल्म खरिद गरेको हो । यो कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले फिल्मको टिजर सार्वजनिक भएपछि दर्शकमा फिल्मलाई लिएर उत्साह बढेको बताए । यसैले, आफ्नो कम्पनीले फिल्मको जापान अधिकार खरिद गरेको उनको भनाई छ ।
फिल्म ‘द आउटलः दफा २१९’को कथावस्तु केही पनि खुलेको छैन । तर, सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारले अभिनय गरेको फिल्मबाट दर्शकले उच्च अपेक्षा गरेका छन् ।
असोजको ३ गते संविधान दिवसको अवसर पारेर रिलिजमा आउन लागेको यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । अमित अग्रहरि निर्माता रहेको फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन् । निर्माण पक्षले अन्य देशमा पनि फिल्म विक्रीका लागि कुरा भइरहेको जानकारी दिएको छ ।
टिजर सार्वजनिक भएपछि यसको माग विदेशमा बढेको छ । यो फिल्मको टिजरलाई दर्शकले रुचाएका छन् । नायक सुशिल श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतार, फिल्मको मेकिङको तारिफ भइरहेको छ ।