बाह्रबिसेबाट दयाहाङ राई स्टारर ‘कार्साङ’को छायांकन सुरु
फिल्म ‘कार्साङ’को छायांकन सुरु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेबाट फिल्मको यसै साताबाट छायाँकन सुरु भएको हो । अभिनेता दयाहाङ राई पाँच महिनापछि फिल्म छायांकनमा फर्किए ।
उक्त नगरपालिकाको यार्सा गाउँमा केही दिनदेखि शेर्पा समुदायको कथावस्तुमा आधारित फिल्मको छायांकन चलिरहेको छ । दयाहाङले बिहीबारदेखि छायांकन सेट ज्वाइन गर्दैछन् । ‘कार्साङ’को कुरा गर्दा यो फिल्ममा दयाहाङले शेर्पा समुदायको एक व्यक्तिको भूमिका निर्वाह गर्दैछन् । फिल्मबारे थप खुलाइएको छैन । बौद्ध भिक्षुबाट स्क्रिप्ट पूजा गराई शुभ मुहूर्त गरिएको फिल्मको मुख्य कलाकारमा सिर्जना निङ्लेकु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी पनि छन् । नयाँ कलाकारको रुपमा सिर्जना र छिरिङले डेब्यु गर्दैछन् ।
सिर्जनाले केही म्युजिक भिडियोमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छन् । उनी हिमालय टिभीको कार्यक्रम ‘डान्सिङ स्टार नेपाल सिजन २’ को विजेता समेत हुन् ।
फिल्ममा माओत्से गुरुङ, सम्राट क्षेत्री, राशि लिम्बू, सोही थापा, कर्मा शेर्पा, छुकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहनेछ ।