आठ वर्षपछि फिल्ममा फर्किए राजेश हमाल
महानायक राजेश हमाल झन्डै आठ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् ।
आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले समेत सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् । सहमतिको जानकारी दिँदै उनले लेखेका छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’
एक्सन प्रधान रहने फिल्ममा हमालले झन्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् । आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माण पक्षको भनाइ छ । निर्देशक दिवाकरले फिल्मको कथावस्तु मन पराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने दावी गरे ।
पछिल्लो पटक फिल्म ‘सकुन्तला’मा अभिनय गरे पश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका थिएनन् । बरु उनले म्युजिक भिडियो, मेला, महोत्सव र अन्य कार्यक्रममा व्यस्त भए ।