मलिका महत स्टारर ‘सतिदेवी’को प्रिमियरमा प्रशंसा
लक्ष्मण सुवेदी निर्देशित फिलम ‘सतीदेवी’को मंगलबार प्रिमियर गरियो । कमलपोखरीस्थित बिग मूभिजमा आयोजित प्रिमियर समारोहमा फिल्मकर्मीको उल्लेख्य उपस्थिति थियो ।
प्रिमियर शोमा गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल, दिवाकर भट्टराई, लक्ष्मण सुनार, शोभित बस्नेत, निर्मात्री पुनम गौतम, अभिनेताहरू सलिनमान बनियाँ, कुन्साङ वोम्जोन, सलोन बस्नेत लगायतका हल पुगेका थिए ।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले पनि प्रिमियर शोमा ‘सतीदेवी’ हेरिन् । प्रिमियर शोमा सिनेमा हेरेका अधिकांशले नेपालमा विद्यमान रहेको छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजको समस्यालाई सिनेमाले उठान गरेको बताए । कतिपयले सिनेमा हेर्दा कैयौं पटक आँखा रसाएको बताए ।
प्रिमियरमा सिनेमाले लैंगिक समानताको पक्षमा सामाजिक सन्देश दिएको बताए । उनीहरुले कलात्मक पक्षको प्रशंसा गर्दै सिनेमामा काम गरेका सवै कलाकारको अभिनयको तारिफ गरेका थिए । आज पनि समाजमा छोराको चाहनामा छोरीहरूमाथि हुने गरेको अन्यायको कथालाई मर्मस्पर्शी ढंगले भनेको छ ।
निर्देशक सुवेदीको लेखन समेत रहेको फिल्मका शीर्ष भूमिकामा अभिनेत्री मलिका महत प्रस्तुत भएकी छन् । उनले लमजुङकी एक ग्रामिण युवती सतीदेवी अधिकारी नामक चरित्र निर्वाह गरेकी छन् । बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह सिनेमामा प्रस्तुत गरिएको छ ।
फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।
दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको सिनेमामा सुवेदीकै पटकथा र संवाद छ । दिलासा र साराको प्रस्तुती रहेको सिनेमाको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । फिल्ममा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत छ ।