‘रावायण’को प्रोमोले बनायो नयाँ रेकर्ड (फोटो/भिडियो)
पल शाह स्टारर फिल्म ‘रावायण’को प्रोमोले डिजिटल बजारमा नयाँ रेकर्ड बनाएको छ । चौबिस घण्टा नबित्दै युटुवमा दश लाख बढी भ्युज कमाएर यो एक्सन प्रधान ट्रेलर युटुव मुभिज अन्र्तगत् पहिलो नम्बर ट्रेन्डिङमा पर्न सफल भएको हो । यस अगाडी अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ को प्रोमोले युटुवमा यस प्रकारको रेकर्ड बनाएको थियो ।
‘रावायण’को प्रोमो हेरेर करिब पाँच हजारले सकारात्मक प्रतिक्रिया दिएका छन् भने चालिसले लाइक गरेका छन् ।प्रोमोमा विशेषतः पल शाहका फ्यानले आक्रमक रुपमा प्रतिक्रिया जनाइरहेका छन् । ‘पूजार सार्की’को सफलता पश्चात् अभिनेता शाह ‘रावायण’ मार्फत दर्शकमाझ फर्किएका हुन् । यो मल्टीस्टारर फिल्म तिजको अवसर पारेर भदौ २१ गते देखि प्रदर्शनमा आउँदैछ । फिल्ममा पलको अपोजिटमा अभिनेत्री पूजा शर्मा प्रस्तुत भएकी छन् । पल र पूजा अभिनित पछिल्लो फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आएको थियो ।
फिल्म ‘रावायण’लाई सुर्दशन थापाले निर्देशन गरेका हुन् । फिल्ममा उनको लेखन सँगै अभिनेत्री शर्मासँग लगानीमा समेत सहकार्य गरेका छन् । पल र पूजासँगै फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह लगायत अन्य कलाकारहरुको अभिनय छ । सौरभ लामाको छायाँकन रहेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।
तस्बिर : उद्धव रसाइली