‘केटी हराएको सूचना’को पहिलो गीत रिलिज
फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हेर्दै जाउँ..’ बोलको गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ । शब्द तथा संगीत दीपेन्द्र गौचनको छ । गीत :
गीतमा संजोगले अचानक भएको भेट, बेठेगान र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको एक युवक र युवतीको कथा भन्छ । जिन्दगीको यात्राका क्रममा भेटिएका युवा-युवतीलाई जिन्दगीको गन्तब्य नै निश्चित नरहेको भावमा गीत लेखिएको छ । सपनामा देखेजस्तो हो कि विपनामा देखेको अभाव नै जिन्दगी हो भन्ने प्रश्न गरेको गीतले समग्रमा जिन्दगी प्रश्नै प्रश्नले भरिएको छ भन्ने बताउँछ ।
जिन्दगीको उत्तरार्धमा आइपुग्दा पनि यथार्थमा जिन्दगी के हो भन्ने थाहा नहुने गरेको भन्दै बीचमा आउने दुःख, हाँसो, घाम र छाया, मिलन तथा बिछोड किन भन्ने प्रश्न गरेको गीतले समग्रमा जिन्दगी आफैँमा एक आश्चर्य हो भन्ने बताउन खोजेको छ । गीतका यिनै भाव बोल्ने भिडियोमा चलचित्रका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन फिचर्ड छन् । दुई साथीबीचको लामो समयपछिको भेटमा हुने खुसी भिडियोमा देखिन्छ । नेपालका तराई क्षेत्रमा भिडियो छायांकन भएको भिडियोले पुष्टि गर्छ ।
फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रको निर्देशन करिब ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गरेका छन् । निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका छन् ।
उनी स्वयं निर्माता रहेको फिल्मामा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ । फिल्मका कार्यकारी निर्माता नकिम उद्दिन हुन् ।